‘टनेल २६’ को रिलिज स्थगित, विश्वव्यापी प्रदर्शनको तयारी

काठमाडौं,
असोज २३ ।

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को असोज २३ गते (९ अक्टोबर) देखि हुने भनिएको प्रदर्शन स्थगित भएको छ ।

नेपाल र भुटानमा प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई ग्राण्ड प्रिमियरबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरिएको निर्माण टिमले जनाएको छ । अब चलचित्र नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विभिन्न देशमा प्रदर्शन गरिनेछ । आवश्यक तयारी पूरा भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ ।

डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिनुभएको छ ।

निर्माण टिमले प्रदर्शन स्थगित गर्नुपरेकोमा दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकसँग क्षमायाचना गर्दै चलचित्रप्रति देखाएको माया र विश्वासका लागि आभार व्यक्त गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार