काठमाडौं,
असोज २३ ।
दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आज (शुक्रबार)बाट खुला भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ ।
फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाडी तथा लामोरमध्यम दूरीका सवारीसाधनलाई नेपालभरका लागि रुट–परमिट खुला हुनेछ ।
चाडपर्वको अवधिमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोकाजस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीहरूलाई मात्र प्राथमिकता दिइने भएको छ ।
यात्रुहरूलाई ठगिन वा कालाबजारी हुन नदिन र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेसनहरूमा सहायता कक्ष राखिने भएको छ ।






