काठमाडौं,
असोज २३ ।
‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ का विजेतासहित तीन जना नेपाली महिला थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने भएका छन् ।
सामरी इन्टरनेसनल इभेन्ट प्रालिको आयोजनामा साउन १६ गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न प्रतियोगितामा ४७ वर्षीया सुमित्रा श्रेष्ठ (रोजि)ले ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को उपाधि जित्नुभएको थियो । उहाँले थाइल्यान्डमा हुने ‘मिसेस क्लासिक एसिया इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
त्यस्तै, फर्स्ट रनरअप कल्पना प्रसाईं (कामना) र थर्ड रनरअप गंगा न्यौपाने राउत (गम्भीर गंगा)ले पनि थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुहुने छ ।
आयोजक सामरी इन्टरनेसनल इभेन्ट तथा सामरी ग्रुपका सीईओ भरत सामरीका अनुसार प्रतियोगिताले महिलाको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा र नेतृत्व क्षमतालाई प्राथमिकता दिँदै नेपाली संस्कृति, फेसन तथा महिला सशक्तीकरणलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।






