काठमाडौं,
असोज २३ ।
यही असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’को नयाँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक गरिएको छ । दसैंको माहोललाई समेटिएको गीत निर्माण टिमले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेको हो ।
बाबुल गिरीको शब्द तथा संगीत र बाबुल गिरी र रचना रिमालको स्वर रहेको गीतको भिडियोमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ र निकिता आचार्यलगायतका कलाकार सामूहिक नृत्यमा रमाएको देख्न सकिन्छ । गीतमा लाहुरेको भूमिकामा देखिनुभएका सबिन श्रेष्ठ पनि प्रस्तुत हुनुहुन्छ । सामूहिक विवाहको परिवेशमा छायांकन गरिएको गीतको कोरियोग्राफी गम्भीर बिष्टले गर्नुभएको हो ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेललगायतका कलाकारको अभिनय छ ।
चलचित्रको संवाद रोशन भट्टले लेख्नुभएको हो भने नवराज उप्रेतीको छायांकन र साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ ।






