काठमाडौं,
असोज १४ ।
यही असोज २३ गते प्रदर्शन हुन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र प्राप्त गरेको छ । विनयराज पौडेलको निर्देशन रहेको यो चलचित्र अभिभावकले छोरीको चाहनाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित छ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा हुनुहुन्छ ।
उहाँहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी लगायतका कलाकारको यस चलचित्रमा अभिनय रहेको छ ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको यस चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पार्नुभएको हो ।
दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य र कर्णराज गिरीको सङ्गीत रहेको यस चलचित्रलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दै हुनुहुन्छ ।






