काठमाडौं,
असोज १४ ।
अभिनेत्री रेखा थापा र निर्देशक सवीर श्रेष्ठको सहकार्यमा बनेको चलचित्र ‘छत्तीसको आँकडा’ आगामी मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसरमा रेखाको ‘बीआर क्याफे’मा आयोजित कार्यक्रममा चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्मित चलचित्रलाई सवीर श्रेष्ठले निर्देशन गर्नुभएको हो । चलचित्रमा रेखा थापासहित पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंहको मुख्य अभिनय छ । चलचित्रमा रेखा र महेश तथा पूजा र पुष्पको जोडी देखिनेछ ।
रेखा र निर्देशक श्रेष्ठले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’ र ‘कसले चोर्यो मेरो मन’लगायत चलचित्रमा सहकार्य गर्नुभएको थियो । रेखा र पूजा ‘उपहार’पछि पुनः एकसाथ देखिन लाग्नुभएको हो । चलचित्रको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।






