काठमाडौं,
असोज ११ ।
पितृप्रति श्रद्धा अर्पण गर्ने महत्वपूर्ण पर्व सोह्रश्राद्ध यस वर्ष आज (आइतबार आश्विन ११ गते)देखि आरम्भ भएको छ । आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्धलाई सोह्रश्राद्ध वा महालय श्राद्ध भनिन्छ । असोज २४ गते शनिबार औँसीका दिन सोह्रश्राद्ध सकिने छ ।
तिथिका आधारमा गरिने भएकाले सोह्रश्राद्धको सुरुआत र अन्त्य हुने मिति प्रत्येक वर्ष फरक हुने गर्छ । धार्मिक मान्यताअनुसार यस अवधिमा दिवंगत पितृहरूको सम्झना गर्दै तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने गरिन्छ ।
पितृको मृत्यु भएको तिथि थाहा भए सोही तिथिमा श्राद्ध गर्ने परम्परा छ । तिथि थाहा नभएकाहरूले औँसीमा श्राद्ध गर्न सक्ने धार्मिक मान्यता छ । त्यस्तै, कुमार अवस्थामा मृत्यु भएकाको पञ्चमी, आमाको श्राद्धका लागि आश्विन कृष्ण नवमी अर्थात् मातृ नवमी तथा संन्यास लिएका पूर्वजको एकादशी वा द्वादशीमा श्राद्ध गर्ने परम्परा रहेको छ । दुर्घटना, आगलागी, डुबेर, चट्याङ, विष सेवन वा अस्त्र-शस्त्रबाट मृत्यु भएकाहरूको चतुर्दशीमा श्राद्ध गर्ने चलन छ ।
सोह्रश्राद्धका समयमा सात्त्विक भोजन गर्ने, मांसाहार तथा तामसी भोजन त्याग्ने र दैनिक स्नान गर्ने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार प्याज, लसुनलगायत केही खाद्य पदार्थ श्राद्धमा प्रयोग नगर्ने तथा शुद्ध अन्नबाट पिण्ड तयार गरी पितृलाई अर्पण गर्ने गरिन्छ ।
आफ्नो पितृको तिथि वा श्राद्ध गर्न नसकिएको अवस्थामा औँसीलगायत अन्य उपयुक्त समयमा श्राद्ध गर्न सकिने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । महालय श्राद्ध छुटेमा कार्तिक औँसीमा पिण्डदान गर्ने र त्यसमा पनि सम्भव नभए मंसिरभित्र श्राद्ध गर्नुपर्ने मान्यता रहेको छ ।
सोह्रश्राद्धपछि दशैँ, तिहारलगायत पर्व आउने भएकाले पहिले पितृको स्मरण र श्राद्ध गरी त्यसपछि देवपूजा तथा अन्य धार्मिक कार्य गर्ने परम्परा नेपाली समाजमा रहँदै आएको छ ।






