गीतकार संघको १७औँ वार्षिकोत्सव : स्रष्टा सम्मानसँगै सांगीतिक उत्सव हुँदै

काठमाडौं,
असोज १० ।

गीतकार संघ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने ‘सम्मान तथा पुरस्कार समारोह एवम् सांगीतिक कार्यक्रम-२०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

बाढीपहिरोका कारण भदौ २५ गतेका लागि तय भएको कार्यक्रम स्थगित भएपछि संघले यही असोज ११ गते आइतबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ भने सहभागीका लागि २ः३० बजेदेखि प्रवेश खुला गरिने संघले जनाएको छ ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाका अनुसार कार्यक्रमको प्राविधिक तथा व्यवस्थापकीय तयारी लगभग पूरा भइसकेको छ । प्रतिष्ठित गीतकार किरण खरेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाली कला, साहित्य तथा गीत–संगीत क्षेत्रका स्रष्टा तथा व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

समारोहमा नेपाली गीत-संगीत क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठित गीतकार निर शाहलाई एक लाख ५१ हजार रुपैयाँ नगदसहित ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०८२’ प्रदान गरिने संघले जनाएको छ ।

त्यस्तै, ‘डायस्पोरा गीतकार सम्मान, गीतकार संघ नेपाल-२०८२’ बाट गीतकार नीलम आङबुहाङ राईलाई १५ हजार रुपैयाँसहित सम्मान गरिनेछ । ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान-२०८२’ लोहोरुङ राई भाषाका गीतकार नईन्द्र लोहोरुङलाई २५ हजार २५२ रुपैयाँसहित प्रदान गरिनेछ ।

‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान, गीतकार संघ नेपाल-२०८२’ बाट गीतकार अरुण तिवारी र सुशीला पौडेललाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिनेछ । यसै वर्षदेखि प्रदान गर्न थालिएको ‘गीतकार संघ नेपाल पत्रकारिता सम्मान’ हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाललाई प्रदान गरिने संघले जनाएको छ ।

समारोहमा ‘भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार’ पनि प्रदान गरिनेछ । छनोटमा परेका उत्कृष्ट १० गीतमध्ये एक गीतलाई ५७ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । पुरस्कारका लागि डम्बर याक्सोको ‘म त तिम्रो नजरमा’, प्रबल विष्टको ‘भुल्न सकिनँ’, लेखराज गिरीको ‘एउटै बाटो’, राम भट्टराईको ‘जिन्दगीको सुख खोज्दै’, गौरव गुरुङको ‘तिम्रो सम्झनामा’, हरिराम पौडेलको ‘आफ्नै प्रितिको गीत’, रविन्द्र आशिष शैलीको ‘छैन जून आज’, अमरदीप सुनुवारको ‘मायाजाल मोहनी’, डा. विष्णुमूर्ति भट्टराईको ‘मेरो नाम लिने ओठले’ र डा। रुद्रनाथ अधिकारीको ‘आउन माया आउ’ छनोटमा परेका छन् ।

यसैगरी ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार’ अन्तर्गत एकजना गीतकारलाई ५७ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । उक्त पुरस्कारका लागि कल्पना खरेलको ‘नन्दनी’, ध्रुव खनालको ‘मनको आँखा’ र डा. ज्ञानेन्द्र गदालको ‘भोलिको आश उज्यालो प्रकाश’ छनोटमा परेका छन् ।

समारोहको सांगीतिक खण्डमा १० जना गीतकारका लोकप्रिय तथा कालजयी गीत प्रस्तुत गरिनेछ । डा. भोला रिजाल, गणेश रसिक, निर शाह, एसपी कोइराला, अमर बान्तु, विनोद चौधरी, डा. कृष्णहरि बराल, योगेन्द्रमणि दाहाल, चुडामणि देवकोटा र शुभ मुकारुङका गीत चर्चित गायक-गायिकाले प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गर्नेछन् ।

सांगीतिक प्रस्तुतिमा जगदिश समाल, सञ्जय तुम्रोक, अशोक मुकारुङ, रूपक चौधरी, बिनुसा राई, निशा देसार, माण्डवी त्रिपाठी, प्रेम परियार, सुमित खड्का र गणेश पराजुली सहभागी हुनेछन् ।

यसअघि भदौ २५ गते तय भएको कार्यक्रम भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट जनधनको क्षति भएपछि स्थगित गरिएको थियो । अध्यक्ष थापाले विपद्को संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम स्थगित गरिएको बताउँदै पीडितप्रति दुःख व्यक्त गर्नुभएको छ ।

संघले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक लाख १५ हजार रुपैयाँ राहत रकमसमेत जम्मा गरिसकेको जनाएको छ ।

अध्यक्ष थापाले विषम परिस्थितिपछि आयोजना हुन लागेको कार्यक्रमले मानसिक रूपमा थकित संगीतप्रेमीलाई सांगीतिक राहत र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले स्रष्टाको सम्मान र नेपाली संगीतको उत्सवका रूपमा आयोजना हुने कार्यक्रममा गीतकार, पत्रकार, संगीतप्रेमी तथा सम्पूर्ण सरोकारवालालाई उपस्थितिका लागि आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार