‘जदौ’को दोस्रो ट्रेलरमा जातीय विभेद र प्रेमकथा

काठमाडौं,
असोज ८ ।

अन्तरजातीय प्रेमकथामा आधारित चलचित्र ‘जदौ’ यही शुक्रबार (९ असोज)देखि प्रदर्शनमा आउने भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माण पक्षले दोस्रो विस्तारित ट्रेलर सार्वजनिक गरेको छ ।

साढे दुई मिनेट लामो ट्रेलरमा जातीय विभेद र त्रिकोणात्मक प्रेमकथालाई केन्द्रमा राखिएको छ । यसअघि सार्वजनिक भएका ‘जदौ हजुर’ र ‘तिमीसँग नबोली’ बोलका गीतले फिल्मप्रति दर्शकको चासो बढाइरहेका बेला निर्माण पक्षले दोस्रो ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलर सार्वजनिक भएसँगै युट्युबमा दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ । दर्शकले ट्रेलरमा प्रस्तुत संवाद, कथा र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । मुख्य अभिनेता प्रभात पाल ठकुरीको लुक्स र अभिनयलाई लिएर पनि सकारात्मक प्रतिक्रिया आएको छ । सामाजिक विभेदको यथार्थ कथालाई पर्दामा प्रस्तुत गर्न खोजिएको भन्दै कतिपय दर्शकले निर्माण पक्षको प्रयासको प्रशंसा गरेका छन् ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्रमा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुन मगर (खबपु), सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की लगायतका कलाकारको अभिनय छ । चलचित्रको लेखन निर्देशक काजी लिम्बूले गर्नुभएको हो ।

सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको चलचित्रमा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ । मनोज चौलागाईं र भुपेन्द्र बज्राचार्यले पार्श्व संगीत दिनुभएको छ भने अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ । चलचित्रको प्रदर्शनका लागि हलहरूमा बुकिङ खुल्नसमेत सुरु भइसकेको निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार