काठमाडौं,
असोज ८ ।
प्रकाश सपुत र भाका नेपाल, प्रमोद तथा परम्परा ब्याण्ड र फिरन्ते ब्याण्डले संयुक्त रूपमा देशका सातै प्रदेशका १३ प्रमुख शहरूमा सांगीतिक टुर गर्ने भएका छन् । ‘सुरताल म्युजिकल टुर–२०८३’ नाम दिइएको टुर असोज १० गते धनकुटाको हिलेबाट सुरु हुनेछ ।
सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा हुने टुरमा प्रकाश सपुतका चर्चित तथा नयाँ गीतसँगै प्रमोद-परम्परा ब्याण्ड र फिरन्ते ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । सपुत यसपटक ट्र्याकमा नभई भाका नेपाल ब्याण्डसहित लाइभ प्रस्तुतिमा देखिने आयोजकले जनाएको छ ।
कार्यक्रममा अत्याधुनिक साउण्ड तथा लाइट, लाइभ इन्स्टुमेन्ट, कोरस डान्स र गीत अनुसारको मञ्चीय प्रस्तुतिलाई समावेश गरिनेछ । कार्यक्रम निशा पन्थीले सञ्चालन गर्नुहुनेछ ।
आयोजकका अनुसार कार्यक्रमको खर्च कटाएर बाँकी आम्दानीको २० प्रतिशत रकम बाढी, विपद् प्रभावित नागरिकको राहत र पुनस्र्थापनामा प्रदान गरिनेछ । यसअघि पोखराबाट सुरु गर्ने तयारी भए पनि बाढीका कारण पोखरा र धरानका कार्यक्रम स्थगित गरिएको हो ।
टुरअन्तर्गत असोज १० गते हिले, १४ गते तेह्रथुम, १७ गते खाँदबारी र १९ गते बर्दिबासमा कार्यक्रम हुनेछ । दोस्रो चरणमा मंसिर २ गते महेन्द्रनगरबाट सुरु भई ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा कार्यक्रम आयोजना हुनेछ । त्यसपछि स्थगित पोखरा र धरानका कार्यक्रम आयोजना गरी टुर समापन गरिने आयोजकले जनाएको छ ।






