देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं,
असोज ८ ।

देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको छ । उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसको प्रभावले हाल देशभर सामान्यतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश भू-भागमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश भूभागमा बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सामान्यतया बदली रहने महाशाखाको अनुमान छ ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका धेरै स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार