काठमाडौं,
असोज ७ ।
ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मी तथा विज्ञहरूको योगदानको स्मरण गर्दै असोज ७ गते राष्ट्रिय संरक्षण दिवस मनाइएको छ ।
दिवसका अवसरमा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंमा विशेष स्मृति कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण, तस्वीरमा माल्यार्पण तथा दीपप्रज्वलन गरिएको थियो ।
कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा सम्पन्न २०औँ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि माननीय दीपेन्द्र श्रेष्ठ तथा अतिथिहरूमा काजीबार एसोसिएसनका निवर्तमान अध्यक्ष आरसी विमल, विज्ञान अर्याल, सन्तोष चौलागाईं, सविना न्यौपाने, ज्योति गिरी र नवराज पाठकलगायतको उपस्थिति थियो ।
जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंको रामकोटमा दुर्घटनामा परी ज्यान गुमाएका २४ जनाको अर्धकदको सालिकसमेत स्थापना गरेको छ ।
वि.सं. २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सास्थित फले पहाडमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जना संरक्षणविद् तथा विज्ञले ज्यान गुमाएका थिए ।
विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजित कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा। तीर्थमान मास्के, तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका तत्कालीन महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो ।
संरक्षण क्षेत्र व्यवस्थापन, वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षणमा उनीहरूले पुर्याएको योगदानको स्मरण गर्दै हरेक वर्ष असोज ७ गते राष्ट्रिय संरक्षण दिवस मनाउने गरिएको छ ।





