आजको मौसम : मनसुनसँगै पश्चिमी वायुको प्रभाव, केही स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं,
असोज ७ ।

देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम-मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रका रूपमा पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ ।

हाल बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ ।

त्यसैगरी, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी प्रदेशका थोरै स्थानमा, बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र गण्डकी तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार