काठमाडौं,
भदौ २१ ।
चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ । यो वर्ष हालसम्म सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको ‘गौँथली’ले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१औं दिन मनाएको हो । निर्माता सुमन गिरीका अनुसार चलचित्र अहिले ४३ हलमा ५९ शोसहित प्रदर्शनरत छ । चलचित्रले पछिल्लो समयसम्म २५ करोड ८० लाख पाँच हजार ५२५ रुपैयाँ कलेक्सन गरेको उहाँले बताउनुभयो ।
अधिकांश नेपाली चलचित्रलाई एक साता पनि हलमा टिक्न कठिन भइरहेको अवस्थामा ‘गौँथली’ले ‘पूर्ण बहादुरको सारंगी’पछि नेपाली चलचित्र उद्योगकै दोस्रो सर्वाधिक कमाउने चलचित्रको कीर्तिमान बनाएको छ ।
निर्देशक डा.कपिल रिजालले दर्शकको माया र टिमको मिहिनेत कारण ५१औं दिन मनाउन सफल भएको बताउनुभयो । उहाँले दर्शकको मायाले आफूहरूलाई थप जिम्मेवार बनाएको भन्दै आभार व्यक्त गर्नुभयो ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराललगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता सुमन गिरी र डा.कपिल रिजाल तथा कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ ।







