काठमाडौं,
भदौ २१ ।
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न ‘डीएसए स्टार सिजन-२०’को फिनालेमा विभिन्न विधाका बालबालिका विजेता बनेका छन् । प्रतियोगिताअन्तर्गत ‘मिनी डान्सिङ स्टार’को उपाधि इभा न्यौपानेले जित्दा स्वर्ण महर्जन फस्ट रनरअप, प्रिसा डंगोल सेकेण्ड रनरअप र रुही कनौया थर्ड रनरअप हुनुभयो । ‘जुनियर डान्सिङ स्टार’मा दिक्षा खड्का, ‘प्री-टिन डान्सिङ स्टार’मा सान्सा नेपाल, ‘सिंगिङ स्टार’मा अमृता सुनवार र ‘डीएसए एक्टिङ स्टार’मा साइमन महर्जन विजेता बन्नुभयो ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी ८५ जना बालबालिकालाई काठमाडौंको बालाजुस्थित समृद्धि स्कुलमा एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । नेपाल प्रहरीका एआईजी डम्बरबहादुर विकको प्रमुख आतिथ्यमा सम्पन्न फिनालेमा युवराज सुवेदी, कृष्णभक्त ब्रह्माचार्य, मनीषा पोखरेल र मौसम हिमालीलगायत निर्णायक रहनुभएको थियो ।
परिवर्तन इभेन्ट हाउसकी सीईओ सोनिया जीआरका अनुसार विजेताले म्युजिक भिडियोमा अभिनय गर्नुका साथै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । हाउसका निर्देशक राज बराइलीले बालबालिकाको प्रतिभा प्रस्फुटन गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।







