बाढीपीडितका लागि अक्सिडेन्टल पब्लिक स्कुलको दुई लाख ५१ हजार सहयोग

काठमाडौं,
भदौ २० ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौंको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिनुभयो । शिक्षक, कर्मचारी तथा विद्यालय परिवारको सामूहिक सहभागितामा रकम संकलन गरिएको उहाँले बताउनुभयो ।

विद्यालयका निर्देशक डिबी निरौलाले विपद्का बेला पीडितलाई सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै राज्यको प्रयाससँगै निजी क्षेत्र, शिक्षण संस्था र नागरिकको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

विद्यालयका व्यवस्थापक तथा सूचना प्रमुख गोपाल पौड्यालले शिक्षालयको भूमिका शैक्षिक ज्ञान प्रदान गर्नमा मात्र सीमित नरहेको उल्लेख गर्दै विद्यार्थीमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गराउनु पनि विद्यालयको जिम्मेवारी भएको बताउनुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार