परिवर्तन नेपाल र आलोकनगर समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान

काठमाडौं,
भदौ २० ।

परिवर्तन नेपाल र आलोकनगर समुदायको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका-३१, एभरेस्ट हस्पिटल तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नयाँ बानेश्वरको सहकार्यमा मीनभवनस्थित प्रिमियर कलेज, आलोकनगरमा आयोजित कार्यक्रममा करिब ५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा लिएका थिए । सोही अवसरमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

कार्यक्रम काठमाडौं महानगरपालिका-३१ का वडा अध्यक्ष सरोज ढकालको प्रमुख आतिथ्य तथा आलोकनगर समुदायका अध्यक्ष ध्रुव पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेशका सांसद सुरजचन्द्र लामिछाने, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डी.सी., कलाकार संघका अध्यक्ष उत्तम के.सी., कलाकार पुजना प्रधानलगायत कलाकार, चलचित्रकर्मी, समाजसेवी तथा स्थानीयवासीको सहभागिता थियो ।

चलचित्र निर्देशक जनक दीप पराजुलीको संयोजकत्वमा आयोजित कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेका बिरामीका लागि रगतको उपलब्धता सहज बनाउनु रहेको आयोजकले जनाएको छ ।

परिवर्तन नेपालका अध्यक्ष तथा कलाकार मोहन निरौलाले आगामी दिनमा पनि समुदाय केन्द्रित सामाजिक, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्‍याउने काठमाडौँ महानगरपालिका-३१, सशस्त्र प्रहरी बल नयाँ बानेश्वर, एभरेस्ट हस्पिटल तथा सामुदायिक प्रहरी सेवा केन्द्रप्रति परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

यसमा तपाइको मत

अन्य समाचार