इलाम,
भदौ २० ।
कवि प्रतिभा पौडेलको सातौँ कृति तथा महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा आयोजित एक कार्यक्रमबीच महाकाव्य ‘तितिक्षा’ सार्वजनिक गरिएको हो ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।
लोकार्पण कार्यक्रममा साहित्यकार इन्द्रनारायण सुवेदी, सोम निरौला, टीका घिमिरे तथा युवा साहित्यकार एवं कवि अन्वेष थुलुङले महाकाव्य ‘तितिक्षा’माथि टिप्पणी तथा समीक्षात्मक धारणा राख्नुभएको थियो ।
वक्ताहरूले महाकाव्यले उठाएका विषयवस्तु, सामाजिक सरोकार तथा साहित्यिक पक्षमाथि चर्चा गरेका थिए । उनीहरूले ‘तितिक्षा’लाई नेपाली साहित्यको महाकाव्य विधामा आएको महत्वपूर्ण कृतिका रूपमा चर्चा गर्दै कृतिका विविध पक्षबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
कवि पौडेलको यो सातौँ कृति हो । महाकाव्य ‘तितिक्षा’को लोकार्पणसँगै इलाममा साहित्यिक गतिविधिलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।







