काठमाडौं,
भदौ १५ ।
काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नेपालका ‘लौहपुरुष’ सर्वोच्च नेता गणेशमान सिंहको जीवन, त्याग र ऐतिहासिक बलिदानमा आधारित नाटक ‘वीर गणेशमान’को मञ्चन सुरु भएको छ । शनिबार साँझ एक विशेष समारोहबीच यस नाटकको प्रिमियर शो आयोजना गरियो । प्रिमियर शोमा गणेशमान सिंहका छोरा तथा नेपाली कांग्रेसका शीर्ष नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको विशेष उपस्थिति रहेको थियो । नाटक अवलोकनपछि बोल्दै नेता सिंहले नेपालमा पूर्ण प्रजातन्त्र कसरी आयो र त्यसमा गणेशमानको योगदान कस्तो थियो भन्ने यथार्थ बुझ्न आजको युवा पुस्ताले यो नाटक अनिवार्य हेर्नुपर्ने बताउनुभयो । आजको पुस्ताले राजनीतिक परिवर्तन सजिलै प्राप्त भएको हो भन्ने कमजोर बुझाइ राख्न नहुने भन्दै उहाँले इतिहासको वास्तविक मूल्य थाहा पाउन सबैलाई नाटक हेर्न आग्रह गर्नुभयो । उक्त प्रिमियर शोमा कलाकर्मी, राजनीतिक विश्लेषक, साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
गणेशमान सिंह फाउण्डेसनको आयोजना र सर्वनामको प्रस्तुति रहेको यस नाटकले १०३ वर्ष लामो निरंकुश जहाँनियाँ राणाशासनविरुद्ध नेपाली नागरिकलाई अधिकार दिलाउन गणेशमानले गरेको अदम्य साहसलाई मञ्चमा जीवन्त रूपमा प्रस्तुत गरेको छ । राणा शासकद्वारा सर्वस्वहरणसहित जन्मकैदको सजाय पाएका गणेशमानले भद्रगोल जेलको पर्खाल नाघेर भाग्न सफल भएको दुस्साहसिक घटनालाई नाटकमा मार्मिक ढङ्गले उतारिएको छ । यसका साथै, २०४६ सालको जनआन्दोलन सफल भएपछि आफूलाई प्राप्त प्रधानमन्त्रीको पदसमेत सहर्ष त्याग गर्दै ‘सत्ताभन्दा माथि निष्ठा हुन्छ’ भन्ने उच्च आदर्श र त्याग प्रस्तुत गरेको ऐतिहासिक क्षणलाई पनि नाटकले मुख्य विषयवस्तु बनाएको छ ।
वरिष्ठ रङ्गकर्मी अशेष मल्लको परिकल्पना, नाट्यरूपान्तरण र निर्देशन रहेको यस नाटकमा गणेशमान सिंहको मुख्य भूमिकामा अभिनेता अभयराज बरालले जीवन्त अभिनय गर्नुभएको छ । निर्देशक मल्लले आफ्नो ५० वर्ष लामो नाट्ययात्रामा बिम्ब र प्रतीकको शैलीलाई छोडेर यसपटक पहिलोपटक यथार्थपरक प्रस्तुति अँगालेको उल्लेख गर्नुभएको छ । करिब दुई घण्टा अवधिको यस नाटकले एउटा नेताको जीवनी मात्र नभई नेपाली इतिहासको महासंग्राम र एउटा निष्ठावान् योद्धाले ‘लौहपुरुष’ बन्ने क्रममा भोगेका मानसिक तथा शारीरिक संघर्षलाई कलात्मक रूपमा स्पर्श गरेको छ । प्रा.डा. सावित्री कक्षपतीको स्क्रिप्ट सम्पादन छ ।
नेपाली जनताको अधिकार र स्वाभिमान स्थापनाका लागि गरिएको बलिदानको जीवन्त दस्तावेज मानिएको ‘वीर गणेशमान’ आगामी २०८३ असोज १४ गतेसम्म मञ्चन हुनेछ । सर्वनाम थिएटरमा बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुने यो नाटक दर्शकको सुविधालाई ध्यानमा राख्दै शनिबार दिउँसो १ः०० बजे अतिरिक्त शोसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।







