ललितपुर,
भदौ १३ ।
नेपाली साङ्गीतिक क्षेत्रको चर्चित ब्यान्ड ‘१९७४ एडी’ले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ । ब्यान्डले यस पटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रिय टुरका रूपमा अघि बढाउँदै अस्ट्रेलियाका विभिन्न सहरहरूमा साङ्गीतिक प्रस्तुति दिने भएको हो ।
ललितपुरस्थित मोक्क्ष लाउन्जमा आयोजित कार्यक्रममा आयोजक संस्था रोटेपिङ इन्टरटेनमेन्टले आगामी सेप्टेम्बर २३ देखि टुर सुरु हुने जानकारी दिएको छ । सेप्टेम्बर र अक्टोबर महिनाभर सञ्चालन हुने यस टुरअन्तर्गत अस्ट्रेलियाका आठ प्रमुख सहरहरू—सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, पर्थ, न्यु क्यासल, अकल्यान्ड र क्यानबेरामा कन्सर्ट आयोजना गरिनेछ ।
आयोजक संस्थाका निर्देशक राजेश घिमिरेका अनुसार टुरको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । पुराना लोकप्रिय गीतहरूसँगै ब्यान्डको साङ्गीतिक विरासतलाई नयाँ पुस्तामाझ पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो । यस पटकको कन्सर्टमा दुई दशकअघिको चर्चित ‘सेट लिस्ट’ समेत समावेश गरिने तयारी छ ।
कार्यक्रममा ब्यान्डका भोकलिस्टद्वय एड्रियन प्रधान र फिरोज स्याङदेन, बास गितारिस्ट निराकर याक्थुम्बा तथा लिड गितारिस्ट मनोजकुमार केसीको उपस्थिति रहेको थियो ।
करिब २० वर्षअघि काठमाडौँस्थित त्रिभुवन रङ्गशालामा ५० हजारभन्दा बढी दर्शकको उपस्थितिमा आयोजना गरिएको ‘रक यात्रा’ नेपाली साङ्गीतिक इतिहासकै सबैभन्दा सफल र चर्चित कन्सर्टहरूमध्ये एक मानिन्छ ।
यसैबीच, आयोजक रोटेपिङ इन्टरटेनमेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत दैवी प्रकोप राहत कोषमा एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । निर्देशक घिमिरेले कार्यक्रमस्थलबाटै अनलाइनमार्फत उक्त रकम सरकारी कोषमा हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।







