नवौं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६ को निर्धारित कार्यक्रम स्थगित

काठमाडौं,
भदौ १४ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिका तथा भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा १७ डिसेम्बर २०२६ मा आयोजना गर्ने तय भएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ हालका लागि स्थगित गरिएको छ । नेपाल फिल्म सोसाइटी, नेपालका अध्यक्ष कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलियाका अरुण श्रेष्ठ तथा भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलियाका रुपेश भट्टराईद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तीमा अवार्ड समारोह स्थगित गरिएको उल्लेख छ ।

‘नेपालमा पछिल्लो समय उत्पन्न भएको अकल्पनीय प्राकृतिक प्रकोपले सिंगो राष्ट्रलाई गहिरो पीडा र शोकमा डुबेका कारण एको छ। यस विपत्तिमा धेरै अमूल्य जीवनहरू गुमेका छन्, धेरै परिवारले आफ्ना आफन्त गुमाएका छन् र देश अझै पनि यस पीडा, दुःख र कठिन परिस्थितिबाट माथि उठ्न संघर्ष गरिरहेको छ। यस्तो संवेदनशील समयमा नेपाल र नेपाली जनताको पीडाभन्दा ठूलो कुनै उत्सव हुन सक्दैन भन्ने हाम्रो साझा विश्वास हो’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘ग्लोबल नेपाली फिल्म अवार्ड नेपाली फिल्म, कलाकार तथा फिल्मकर्मीहरूको सम्मान र नेपाली कला-संस्कृतिको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि आयोजना हुँदै आएको कार्यक्रम हो । तर, अहिलेको अवस्थामा एउटा कार्यक्रमभन्दा पनि पीडामा रहेको आफ्नै देश र जनताको साथमा उभिनु, उनीहरूको दुःखमा ऐक्यबद्धता जनाउनु र मानवीय संवेदना प्रस्तुत गर्नु नै हाम्रो पहिलो दायित्व हो ।’

‘यसै भावनाका साथ, निर्धारित १७ डिसेम्बर २०२६ को नवौं ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना नगरी हालका लागि स्थगित गर्ने निर्णय हामीले गरेका छौं। यो निर्णय विपत्तिको यस घडीमा सिंगो नेपाल राष्ट्र र नेपाली जनतासँग हाम्रो ऐक्यबद्धता प्रकट गर्ने मानवीय र सामाजिक जिम्मेवारीका रूपमा गरिएको हो, विज्ञप्तिमा उल्लेख छ ।

‘हामी विश्वास गर्छौं- दुःखमा साथ दिनु नै साँचो ऐक्यबद्धता हो। आज नेपाल रोइरहेको बेला हामी विदेशमा रहेर पनि नेपालको पीडाबाट अलग रहन सक्दैनौं। त्यसैले उत्सवभन्दा पहिले संवेदना, कार्यक्रमभन्दा पहिले ऐक्यबद्धता र मनोरञ्जनभन्दा पहिले मानवीयता रोज्ने निर्णय गरेका छौं, विज्ञप्तिमा भनिएको छ– ‘कार्यक्रमको नयाँ मिति सम्बन्धित पक्षहरू, कलाकार, चलचित्रकर्मी, प्रायोजक तथा साझेदार संस्थाहरूसँग आवश्यक परामर्श र समन्वय गरी तय गरिनेछ। नयाँ मिति तथा कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी औपचारिक रूपमा सार्वजनिक गरिने छ ।’

यस कठिन घडीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हाम्रो ऐक्यबद्धता छ। विपत्तिबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि खटिनु भएका सम्पूर्ण व्यक्ति, संस्था तथा सुरक्षाकर्मीहरूप्रति हार्दिक सम्मान व्यक्त गदैए विज्ञप्तिमा विश्वभर रहेका नेपाली फिल्मकर्मी, कलाकार, सञ्चारकर्मी, दर्शक, शुभेच्छुक, सहयोगी तथा प्रायोजकहरूको निरन्तर साथ, सहयोग र सद्भावप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। कार्यक्रम स्थगित गर्ने हाम्रो निर्णयलाई यहाँहरूले मानवीय संवेदना र राष्ट्रिय ऐक्यबद्धताको भावनाका रूपमा बुझिदिनुहुनेछ भन्ने अपेक्षा राख्दछौं’ भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘ग्लोबल नेपाली फिल्म अवार्ड नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान र प्रवद्र्धनका लागि निरन्तर समर्पित रहनेछ। परिस्थितिले अनुमति दिएपछि नवौं संस्करण अझ व्यवस्थित, गरिमामय र भव्य रूपमा आयोजना गर्ने हाम्रो प्रतिबद्धता यथावत् रहने छ । नेपालसँगै छौं। नेपाली जनताको दुःखमा हामी पनि सँगै छौं ।’

यसमा तपाइको मत

अन्य समाचार