काठमाडौं,
भदौ १३ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा नगर परिक्रमा गराइन्छ । यसरी परिक्रमा गराउने क्रममा श्रद्धालुहरूले उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार भई स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक र लोक विश्वास रहिआएको छ ।
ऐतिहासिक तथ्य अनुसार राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई ‘दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ’ भनी सान्त्वना दिन यो पर्वको सुरुआत गराएका थिए । नगर परिक्रमाबाट पनि रानीको मन शान्त हुन नसकेपछि राजाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेश दिएका थिए । सोही समयदेखि नै गाईजात्रामा हाँस्यव्यङ्ग्य र प्रहसन समावेश गर्ने प्रचलन चलेको जनश्रुति छ ।
गाईजात्राको टोली हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) परिसर भएर जाने प्राचीन प्रथा अझै पनि कायमै छ । देशका धेरै ठाउँमा मनाइने भए पनि काठमाडौँ, भक्तपुर र ललितपुरमा यसको विशेष रौनक देखिने गर्छ । आठ दिनसम्म चल्ने यस पर्वका क्रममा सामाजिक विकृति र विसङ्गतिप्रति लक्षित व्यङ्ग्यात्मक प्रदर्शन, प्रहसन, नाचगानका साथै मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतहरू पनि गाइन्छ ।
काठमाडौँ उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको सघन उपस्थिति रहेका सहरहरूमा यो पर्व विशेष उत्साहका साथ मनाइँदै छ ।
पर्वको अवसरमा हाँस्य कलाकारहरूले पनि विभिन्न स्थानमा विशेष प्रहसन तथा हाँस्यव्यङ्ग्य कार्यक्रमको आयोजना गर्दै आएका छन् । गाईजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको भए पनि यस वर्ष भने पर्व शनिबारकै दिन परेको छ ।







