काठमाडौं,
भदौ १२ ।
रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउन संघका पदाधिकारीसहितको टोली बिहीबार नै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट रसुवा र नुवाकोटमा भएको क्षतिपछि एनआरएनएले तत्काल राहत र उद्धार अभियान अघि बढाएको हो । संघले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अध्ययन गर्नुका साथै आवश्यकताका आधारमा राहत सामग्री वितरण, उद्धार तथा स्वास्थ्य सेवामा सहयोग गर्ने जनाएको छ ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले रसुवा र नुवाकोटमा भएको विपद्प्रति दुःख व्यक्त गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा गैरआवासीय नेपालीलाई सहयोगमा जुट्न आह्वान गर्नुभयो ।
‘यो विपद्को घडीमा विश्वभर रहेका गैरआवासीय नेपाली एकजुट भएर प्रभावित नागरिकको साथमा उभिन आवश्यक छ,’ शर्माले भन्नुभयो, ‘एनआरएनए तत्काल उद्धार र राहतदेखि स्वास्थ्य सेवा तथा पुनःस्थापनासम्मका काममा सक्रिय रूपमा अघि बढ्छ ।’
एनआरएनएका उपाध्यक्ष तथा राहत समितीका संयोजक मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ले पनि प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर राहतको प्राथमिकता निर्धारण गरिने बताउनुभयो । स्थानीय प्रशासन, नेपाल सरकारका सम्बन्धित निकाय तथा प्रभावित क्षेत्रका स्थानीयसँग समन्वय गरी राहत वितरण गरिने उहाँको भनाइ छ ।
उहाँले तत्काल राहतसँगै बाढी तथा पहिरोबाट प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनामा समेत एनआरएनएले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
एनआरएनएका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका उप संयोजक प्रविन गुरुङले राहत वितरणसँगै उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिन आफू बाढी प्रभावित क्षेत्रमा पुगिसकेको बताउनुभयो । प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्ने र तत्काल आवश्यकताका आधारमा थप राहत परिचालन गरिने उहाँको भनाइ छ ।
‘विपद्को यो पीडादायी अवस्थामा विश्वभर रहेका नेपालीले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक छ,’ गुरुङले भन्नुभयो, ‘एनआरएनएको टोली प्रभावित क्षेत्रमा पुगेर राहत वितरणसँगै उद्धार कार्यमा पनि सक्रिय हुनेछ ।’
गुरुङ नेपालमा जुनसुकै ठूलो विपद् आइपर्दा पनि अग्रपङ्क्तिमा उभिँदै आएका अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । देशमा विपद् आइपर्दा आफ्नो कर्मभूमि छाडेर जन्मभूमि आउने गर्नुभएका गुरुङ यसपटक पनि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि फिल्डमै खटिनुभएको छ ।
एनआरएनएका उपाध्यक्ष भीमसेन थापाले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित नागरिकलाई सहयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । उहाँले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।
थापा स्वयं पनि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण तथा उद्धार कार्यमा सक्रिय हुनुहुने भएको छ । उहाँले विपद्को समयमा गैरआवासीय नेपालीले आफ्नो जन्मभूमिप्रतिको जिम्मेवारी पूरा गर्दै सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।
एनआरएनएले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सामग्री, औषधिलगायत आवश्यक राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरिने संघले जनाएको छ ।
संघका अनुसार तत्कालीन उद्धार र राहतसँगै प्रभावित परिवारको पुनःस्थापनालाई पनि अभियानको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाइनेछ । विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोगलाई एकीकृत गरी वास्तविक रूपमा प्रभावित नागरिकसम्म पुर्याउने गरी अभियान सञ्चालन गरिने एनआरएनएको भनाइ छ ।
प्राकृतिक विपद्का बेला नेपाल र नेपालीको साथमा उभिँदै आएको एनआरएनएले यसपटक पनि पदाधिकारीलाई प्रत्यक्ष रूपमा फिल्डमा परिचालन गरेर राहत तथा उद्धार अभियान अघि बढाएको हो । रसुवा र नुवाकोटका बाढीपीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अभियानमा विश्वभर रहेका नेपालीलाई समेत जोडिन संघले आह्वान गरेको छ ।
एनआरएनएका संस्थापक अध्यक्ष एबम मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल पुर्याउन विशेष चिकित्सक टोली परिचालन गर्ने बताउनुभएको छ । चिकित्सक टोलीले प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनेछ ।
राहत तथा उद्धारका लागि घटनास्थलमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक बद्री केसी, अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष लोकप्रसाद दाहाल, उपाध्यक्ष रोजिना प्रधान, उपाध्यक्ष प्रविन गुरुङ, उपाध्यक्ष मनोजकुमार श्रेष्ठ (गोर्खाली), युवा उपाध्यक्ष भीमसेन थापा, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री, मध्यपुर्व संयोजक रमेश श्रेष्ठ, युरोप पुर्व युवा संयोजक प्रकाश भन्डारीलगायत संघका पदाधिकारी तथा विभिन्न देशका राष्ट्रिय समितिका पदाधिकारीहरूको उपस्थिति रहने जानकारी दिइएको छ ।
संघले नेपाल सरकारसँग प्रत्यक्ष समन्वयका लागि एनआरएनएका पूर्व कार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ । अधिकारीले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँग समन्वय गरी प्रभावित क्षेत्रको आवश्यकता, राहतको प्राथमिकता र एनआरएनएबाट उपलब्ध गराइने सहयोगबीच प्रभावकारी समन्वय गर्नुहुने छ ।







