काठमाडौं,
भदौ १२ ।
गीतकार संघ नेपालले यही भदौ २५ गते आयोजना गर्न लागेको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । गीतकार संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशीको बाँध फुटेर त्रिशूली नदीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनसम्म प्रभावित भएको र हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको र देश शोक तथा पीडामा रहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ । संघले आफ्नो उत्सवभन्दा माथि मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गरेको जनाएको हो ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, विपद्मा परेका नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय, संघसंस्था तथा सम्पूर्ण नेपालीलाई सहयोग गर्न अपिल गरेको छ ।
यसैबीच, गीतकार संघ नेपालले भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख १५ हजार आर्थिक सहयोग जम्मा गरेको संघका अध्यक्ष वसन्त वित्यासी थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बाढीपहिरोबाट भएको जनधनको क्षति र मानवीय पीडाको यस घडीमा आफ्नो सानो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास संघले व्यक्त गरेको छ । संघले विपद्मा रहेका नेपालीप्रति ऐक्यबद्धता प्रकट गर्दै विषम परिस्थितिमा संयमित रहन तथा देश र जनताको हितमा समर्पित हुन गीतकार सदस्यलगायत सम्पूर्णमा आह्वान गरेको छ ।







