शुभमुहूर्तसँगै छायांकनमा ‘ए मेरो हजुर-५’

ललितपुर,
साउन ३० ।

झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए मेरो हजुर-५’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

मुहूर्त सटपछि निर्माण टोली बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा छायांकनका लागि प्रस्थान गरेको निर्देशक थापाले बताउनुभयो । बडीमालिकामा छायांकन गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै उहाँले धार्मिक तथा सांस्कृतिक महत्वसँगै यो क्षेत्र नेपालको पर्यटन र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा रहेको बताउनुभयो ।

चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा हुनुहुन्छ । यी दुईको यो तेस्रो सहकार्य हो । यसअघि ‘ए मेरो हजुर-३’ र ‘ए मेरो हजुर-४’मा उहाँहरूले सँगै अभिनय गर्नुभएको थियो ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सुनिलकुमार थापा हुनुहुन्छ । कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पार्नुभएको छ । अनमोल र सुहानासँगै दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी र आशा भुसाललगायत कलाकारको अभिनय रहने जनाइएको छ ।

यसपटक निर्देशक थापा करिब २५ वर्षपछि ‘ए मेरो हजुर’ शृंखलामा अभिनयमा समेत फर्किंदै हुनुहुन्छ । उहाँको भूमिका भने निर्माण पक्षले खुलाएको छैन । चलचित्र नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार