काठमाडौं,
साउन १३ ।
गुरु-शिष्य सम्बन्धलाई सम्मान, अनुशासन र संस्कारसँग जोड्दै सामाजिक संस्था परिवर्तन नेपालले गुरुपूर्णिमा २०८३ को अवसरमा आयोजना गरेको विशेष कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहन निरौलाको पहलमा आयोजित कार्यक्रममा कला, संस्कृति, चलचित्र तथा विभिन्न क्षेत्रका व्यक्तित्वको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, निर्देशक तथा कलाकार लय संग्रौला, अभिनेता कृष्ण मल्ल, अभिनेत्री सपना श्रेष्ठ तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थिति रहेको थियो । गुरुपूर्णिमाको अवसरमा शिष्य, सहकर्मी तथा गुरु समान व्यक्तित्वहरूलाई एउटै मञ्चमा उभ्याउँदै गुरु-शिष्य सम्बन्धको महत्त्वलाई पुनः स्मरण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै परिवर्तन नेपालका उपाध्यक्ष तथा संगीतकार सन्तोष श्रेष्ठले गुरुपूर्णिमाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वमाथि प्रकाश पार्नुभयो । उहाँले वैदिक परम्पराअनुसार महर्षि वेदव्यास र गुरु गोरखनाथलाई प्रथम गुरुका रूपमा सम्मान गर्ने परम्पराले नेपाली समाजमा गुरुको स्थानलाई अझ उच्च बनाएको उल्लेख गर्नुभयो ।
मुख्य अतिथिका रूपमा मन्तव्य राख्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गुरुको सम्मान केवल एक दिनमा सीमित नहुने बताउनुभयो । उहाँले महर्षि वेदव्यासले स्थापित गरेका ज्ञान, नीति, नियम र अनुशासन आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै गुरुपूर्णिमा मनाउँदा माता–पिता र गुरुप्रतिको सम्मान तथा अनुशासनलाई जीवन व्यवहारमा उतार्नुपर्ने धारणा राख्नुभयो । समय परिवर्तन भए पनि गुरु प्रतिको आस्था र श्रद्धा कहिल्यै परिवर्तन नहुने उहाँको भनाइ थियो ।
वरिष्ठ अभिनेता कृष्ण मल्लले परिवर्तन नेपालले निरन्तर रूपमा आयोजना गर्दै आएको गुरुपूर्णिमा कार्यक्रमले गुरु-शिष्य सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रमा पछिल्लो समय देखिएका प्रवृत्तिलाई सुधार्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले सफलता हासिल गरेपछि पनि आफ्नो जीवन निर्माणमा योगदान दिने माता–पिता र गुरुको योगदान कहिल्यै बिर्सन नहुने धारणा राख्नुभयो ।
निर्देशक तथा कलाकार लय संग्रौलाले जीवनका पहिलो गुरु आमा, सही मार्ग देखाउने गुरुका रूपमा बुबा र औपचारिक शिक्षा दिने शिक्षकको भूमिका सधैँ सम्मानयोग्य रहने बताउनुभयो । आफूले चलचित्र क्षेत्रमा धेरै शिष्य तयार पारे पनि आज उनीहरू संसारका विभिन्न देशमा फैलिएको स्मरण गर्दै जहाँ रहे पनि गुरु र शिष्यबीचको आत्मीय सम्बन्ध र सद्भाव कायम रहनुपर्नेमा जोड दिनुभयो । इतिहास र संस्कारलाई बिर्सन नहुने उहाँको भनाइ थियो ।
वरिष्ठ कलाकार मदनदास श्रेष्ठले परिवर्तन नेपालले गुरुपूर्णिमालाई निरन्तरता दिँदै कला क्षेत्रमा गुरुकुल परम्पराको अभ्यास जीवित राख्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले गुरुबाट प्राप्त शिक्षा, अनुशासन र नैतिक मूल्यलाई व्यवहारमा लागू गर्दै निरन्तर कर्म गर्नु नै गुरुदक्षिणाको सर्वोत्तम रूप भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आफूले गुरु-चेलाको औपचारिक सम्बन्धभन्दा पनि सत्संग र संस्कारलाई बढी महत्त्व दिएको बताउनुभयो । गुरुकुलका नीति, नियम र अनुशासनलाई आत्मसात गर्नु नै शिक्षित र दीक्षित हुनु भएको उल्लेख गर्दै उहाँले सफलतापछि आफ्ना गुरुहरूलाई बिर्सने प्रवृत्ति समाजमा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । पुस्तान्तरणसँगै अनुशासन, सम्मान र संस्कारलाई पनि सँगसँगै हस्तान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गुरुपूर्णिमाको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूबीच भेटघाट, सम्मान तथा जलपानको समेत व्यवस्था गरिएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले गुरु–शिष्य सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली समाजमा संस्कार, सम्मान र अनुशासनको संस्कृति संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।






