काठमाडौं,
साउन १ ।
चलचित्र ‘आशा’को छायांकन आरम्भ गरिएको छ । उडान स्टुडियोको प्रस्तुतिमा निर्माण हुनलागेको यो चलचित्र एक महिनाको कार्यतालिका तय गर्दै बिहीबारदेखि छायांकन आरम्भ गरिएको हो । निर्मात्री शर्मिला थापाका अनुसार पहिलो दिन काठमाडौं उपत्यकामा छायांकन गरिएको छ । प्रारम्भिक केहीदिन उपत्यकामा छायांकन गरेपछि नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा बाँकी दृश्य खिचिनेछन् । उहाँले साउन महिनाभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।
‘हामी योजनानुसार नै छायांकनमा निस्किएका छौं । नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल ढंगले प्रस्तुत गर्दै दर्शकमाझ ल्याउने प्रयासमा छौँ,’ उहाँले भन्नुभयो । छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली तथा बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले अभिनय गर्नुभएको थियो । चलचित्रमा शुशांकसँगै महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको अभिनय रहने जनाइएको छ । चलचित्रको निर्देशन राजिव गुरुङले गर्नुभएको छ । कथा पनि स्वयं निर्देशक गुरुङकै छ । उहाँले चलचित्रले मनोरञ्जनसँगै पारिवारिक सन्देश दिने बताउनुभयो । ‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म पुर्याउने उद्देश्यका साथ चलचित्र निर्माण गरिरहेका छौं । मन छुने पारिवारिक कथामा आधारित चलचित्र तयार हुँदैछ,’ निर्देशक गुरुङले भन्नुभयो ।
चलचित्रमा सहलेखक रामकुमार श्रेष्ठ, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउन्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य तथा मेकअप एवं हेयर आर्टिस्ट सोनाली शिल्पकार रहनुभएको छ ।
त्यसैगरी, मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)तथा वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् । निर्माण पक्षले चलचित्रलाई आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गते देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ ।






