‘अधुरो धुन : समयको सारंगी’ निर्माण हुने

काठमाडौं,
असार ३२ ।

नेपाली लोकसंस्कृतिको प्रतीक सारंगीको धुनलाई आधुनिक सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित चलचित्र ‘अधुरो धुन : समयको सारंगी’ निर्माण हुने भएको छ । पार्टटाइम कलेक्शन फिल्म प्रालिको ब्यानरमा बन्ने चलचित्रको कथा, पटकथा, गीतसंगीत तथा निर्देशन वेदप्रसाद भुर्तेलले गर्नुहुनेछ ।

चलचित्रमा एएमटी थापा, टिकाराम कट्टेल र रत्ना बिष्टको लगानी रहनेछ भने आतिथ्य साझेदारका रूपमा होटल डभोटी धनगढी रहेको छ । मुख्य सहायक निर्देशक नवराज शर्मा हुनुहुन्छ भने संगीत संयोजन फरिन्द्र राई र महाराज थापाले गर्नुहुनेछ ।

चलचित्रमा अमृत थापा, आहाना साउथ, विनय ढुंगाना, परिधि दाहाललगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । चलचित्रको छायांकन धनगढीदेखि पश्चिम नेपालको बडीमालिका क्षेत्रसम्म गरिने जनाइएको छ ।

चलचित्रका गीत–संगीतमा नेपाली लोकलय, गन्धर्व परम्पराको सारंगी, पश्चिमी सिनेम्याटिक ओपेरा, अर्केस्ट्रा, ग्राण्ड पियानो, भायोलिन, सिनेम्याटिक कोयर तथा आधुनिक साउण्ड डिजाइनको संयोजन गरिने बताइएको छ । हाल गीतहरूको अन्तिम चरणको लाइभ इन्स्टुमेन्ट रेकर्डिङ भइरहेको निर्माण पक्षले जनाएको छ ।

निर्माण टोलीका अनुसार चलचित्रका गीतहरू कथासँग अभिन्न रूपमा जोडिनेछन् भने चलचित्रले गन्धर्व सभ्यता, गुरु-शिष्य परम्परा, परिवार, पहिचान र आफ्नो अस्तित्व खोज्ने मानवीय यात्रालाई केन्द्रमा राख्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार