काठमाडौं,
असार २६ ।
नेपाली लोक संगीत क्षेत्रमा उदाउँदा प्रतिभावान गायक–गायिकालाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुनलागेको रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन-२’ को देशव्यापी अडिशन कार्यक्रम सुरु हुनेभएको छ । एभेन्टोज स्टुडियोको आयोजनामा सञ्चालन हुनलागेको प्रतियोगिताले यसपटक सातै प्रदेशका मौलिक लोक प्रतिभालाई समेट्दै व्यापक अडिशन अभियान सञ्चालन गर्ने तयारी गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार पहिलो संस्करणले दर्शक तथा लोकसंगीतकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य तथा प्रतिस्पर्धात्मक बनाउनेगरी तयारी गरिएको हो । प्रतियोगितामार्फत नेपाली लोक दोहोरी गीतसंगीतमा नयाँ पुस्ताका प्रतिभाको खोजी, संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै उनीहरूलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।
शोको निर्णायक मण्डलमा चर्चित लोकगायिका कोमल वली तथा वरिष्ठ लोकगायक राजु परियार र चन्द्र शर्मा रहनुभएको छ । लोकसंगीत क्षेत्रमा लामो अनुभव र योगदान दिनुभएका यी तीन कलाकारको मूल्यांकनमा उत्कृष्ट प्रतिभाको छनोट गरिने आयोजकको विश्वास छ ।
देशव्यापी अडिशन कार्यक्रम यही असार २७ गते शनिबार इटहरीबाट सुरु हुनेछ । त्यसपछि असार २९ गते चितवन, असार ३१ गते बुटवल, श्रावण १ गते नेपालगञ्ज, श्रावण ४ गते पोखरा तथा श्रावण ८ र ९ गते काठमाडौंमा अडिशन सञ्चालन गरिने तालिका सार्वजनिक गरिएको छ । यसअघि जस्तै राजधानीमा मात्र केन्द्रित नभई यसपटक देशका विभिन्न भौगोलिक क्षेत्रका प्रतिभालाई सहज पहुँच उपलब्ध गराउन बहु-क्षेत्रीय अडिशन अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
अडिशनका लागि इटहरीस्थित क्लब के, चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल वाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एण्ड रेष्टुरेण्टलाई अडिशन स्थलका रूपमा चयन गरिएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिक योग्य हुनेछन् । महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता खुला रहने आयोजकले जनाएको छ । आवेदन दिने प्रतिस्पर्धीमा नेपाली लोकसंगीतप्रतिको रुचि र समर्पण, परम्परागत लोकभाका तथा शैलीको राम्रो ज्ञान, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिनसक्ने क्षमता तथा प्रश्न-उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्नसक्ने दक्षतालाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले नयाँ प्रतिभाको खोजीमात्र नभई नेपाली मौलिक लोकसंगीतको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा लोक दोहोरीप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको सन्दर्भमा यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रदेखि राष्ट्रिय मञ्चसम्म कलाकारलाई जोड्ने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतियोगिताको सम्पूर्ण प्रसारण एपीवान एचडी टेलिभिजनबाट हुने जनाएको आयोजकले अडिशनमा सहभागी हुन इच्छुक प्रतिभालाई तोकिएको मिति र स्थानमा आवश्यक विवरणसहित उपस्थित हुन आग्रह गरेको छ ।






