काठमाडौं,
असार १३ ।
चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव तथा रजत वर्षको अवसरमा पाशुपत क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण गरेको छ । शनिवार आयोजित कार्यक्रममा चलचित्रकर्मी, विभिन्न चलचित्रसम्बद्ध संघ-संस्थाका प्रतिनिधि, सामाजिक संस्थाका सदस्य तथा अन्य सरोकारवालाको सहभागितामा करिब २५० वटा बिरुवा रोपिएको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष दिनेश डिसीले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउनुभयो । ‘चलचित्र विकास बोर्डको रजत वर्षको अन्तिम सन्ध्या र २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा छौँ । त्यसको अवसरमा २५० वटा बिरुवा रोप्ने लक्ष्यसहित विभिन्न संघसंस्थाका अध्यक्षहरू, चलचित्र संस्थाका प्रतिनिधिहरू, कलाकार तथा लायन्स क्लबको सहभागितामा वृक्षारोपण कार्यक्रम गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।
सरकारले पनि यस अवधिमा ठूलो संख्यामा वृक्षारोपण अभियान सञ्चालन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले बोर्डले त्यसको सुरुआत गरेको महसुस भएको बताउनुभयो । ‘पर्यावरण संरक्षण र विशेषगरी स्वस्थ जीवनका लागि वृक्षारोपण अत्यन्तै आवश्यक छ । हामीले रोपेका २५० वटा बिरुवामध्ये २५ वटा मात्रै हुर्किए पनि यस क्षेत्रका लागि त्यो ठूलो उपलब्धि हुनेछ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष डिसीले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका अन्य कार्यक्रम पनि सञ्चालन गरिने बताउनुभयो । ‘आइतबार रक्तदान कार्यक्रम पनि राखेका छौँ । १६ गते हुने वार्षिकोत्सवका कार्यक्रमका लागि पनि यसले सकारात्मक माहोल बनाउने विश्वास गरेका छौँ,’ उहाँले भन्नुभयो ।






