काठमाडौं,
जेठ ७ ।
गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोल नं १’ले दर्शकलाई लक्षित गर्दै भिडियो प्रतियोगिताको घोषणा गरेको छ । निर्माण पक्षले ‘लौ सुन म भन्छु मेरो स्कुले कहानी’ शीर्षकमा प्रतियोगिता आयोजना गर्दै स्कुले जीवनका अविस्मरणीय अनुभव समेटिएको उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कार प्रदान गर्ने जनाएको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो परिचयसहित विद्यालयको नाम र ठेगाना उल्लेख गरी शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्त्व, गरिबी, चुनौती तथा स्कुल जीवनका रमाइला सम्झनासम्बन्धी भिडियो तयार गर्नुपर्नेछ । तयार भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै बीसजनालाई सान्त्वना पुरस्कारस्वरूप फिल्मको टिकट प्रदान गरिनेछ । विजेताको घोषणा जेठ २५ गते गरिने जनाइएको छ ।
कीर्तिमानी फिल्म पूर्णबहादुरको सारंगीका निर्माता विनोद पौडेलले निर्माण गरेको उक्त चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगीलगायत कलाकारको अभिनय छ । चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्नुभएको हो ।






