काठमाडौं,
वैशाख १७ ।
लामो समयदेखि नेपाली चलचित्र उद्योगमा मुख्य सहायक निर्देशकका रूपमा सक्रिय विनयराज पौडेलले ‘अक्षरा’ चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्ने हुनुभएको छ । निर्माण पक्षले औपचारिक रूपमा शीर्षक र थिम पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरेको हो ।
सार्वजनिक पोष्टरमा बिहानीको उज्यालोमा एक महिला गन्तव्यतर्फ अघि बढिरहेको दृश्य प्रस्तुत गरिएको छ, जसले कथावस्तु गम्भीर र नारीकेन्द्रित हुने संकेत गर्दछ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बन्ने चलचित्रको छायांकन यही वैशाख २७ गतेदेखि सुरु हुने जनाइएको छ ।
राजन दुलालको प्रस्तुति रहने चलचित्रमा उग्रसेन ढुंगाना र सुरज थापाको लगानी छ । कथा ढुंगानाले तयार पार्नुभएको हो भने पटकथा अभिमन्यु निरवीले लेख्नुभएको छ । चलचित्रमा अभिनय गर्ने कलाकारहरूको नाम भनेसार्वजनिक गरिएको छैन ।






