सन्तोषीको ‘सुमेरण’ लोकार्पण

काठमाडौं,
वैशाख ९ ।

कवि सन्तोषी पाण्डेको पहिलो कविताकृति ‘सुमेरण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघद्वारा काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।

सो अवसरमा साहित्यकार प्रमोद प्रधानले कृति सार्वजनिक गर्दै साहित्य र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ता साहित्यिक क्षेत्रमा सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले कवि पाण्डेलाई नेपाली साहित्यमा प्रवेश गरेकोमा बधाई दिँदै उहाँका कवितामा अनुभूतिको तीव्रता रहेको उल्लेख गर्नुभयो । ‘पाण्डे सम्भावना भएकी कवि हुन्, यो उनको पहिलो पाइला हो, अझै साधना आवश्यक छ’, उहाँले भन्नुभयो ।

कृतिका सम्पादक विमल भौकाजीले पाण्डेका कविताले आफूलाई प्रभावित पारेकाले सम्पादनको जिम्मेवारी लिएको बताउनुभयो ।

साहित्यकार राधेश्याम लेकालीले कृति सम्पादनको महत्त्वमाथि जोड दिँदै राम्रो सम्पादन भएको कृति अन्तर्राष्ट्रिय बजारसम्म पुग्नसक्ने धारणा राख्नुभयो । कृतिकार सन्तोषी पाण्डेले आफ्नो लेखनकर्मबारे चर्चा गर्दै संग्रहमा समेटिएका कविता आफ्ना जीवनका अनुभूति र भावनामा आधारित रहेको बताउनुभयो ।

कार्यक्रममा कवि तथा गीतकार सुमन थापा ‘संगम’ले ‘कविताको जन्म’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । प्रकाशक केशव पराजुलीले पहिलो कृति भए पनि पठनीय र स्तरीय भएकाले प्रकाशन गरिएको जिकिर गर्नुभयो ।

उक्त कार्यक्रममा प्राडा.गोविन्दमानसिंह कार्की, राजेश खनाल, श्रीराम राई, शिवप्रसाद भट्टराई, जीवन श्रेष्ठलगायत विभिन्न साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार