काठमाडौं,
वैशाख ६ ।
यही वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गुरु आमा’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक तथा निर्माता प्रेम सोनी सुनारको आधिकारिक युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।
सार्वजनिक टिजरमा चलचित्रको कथावस्तुको झल्को प्रस्तुत गरिएको छ । चलचित्रले गुरु र विद्यार्थीबीचको सम्बन्ध, शिक्षामार्फत दिने जीवन उपयोगी सन्देश तथा सामाजिक सन्दर्भलाई समेटेको देखिन्छ । टिजरमा अधिकांश कलाकारहरूको उपस्थितिले कथा बहुआयामिक रूपमा अघि बढ्ने संकेत गर्दछ ।
चलचित्रमा ‘गुरु आमा’को शीर्ष भूमिकामा मिथिला शर्मा देखिनुभएको छ । उहाँसँगै गौरी मल्ल, बुद्धि तामाङ, टीका सानुलगायत कलाकारको अभिनय छ ।
यसअघि चलचित्रका पोस्टर सार्वजनिक भइसकेका छन् भने टिजरपछि दर्शकमाझ फिल्मप्रति उत्सुकता बढ्ने अपेक्षा गरिएको छ । चलचित्रको कथा, निर्देशन तथा निर्माण प्रेम सोनी सुनार स्वयंले गर्नुभएको हो ।
निर्देशक सुनारका अनुसार चलचित्रको ट्रेलरसमेत छिट्टै सार्वजनिक गरिनेछ । सामाजिक सन्देश बोकेको कथामा आधारित ‘गुरु आमा’ले शिक्षाको महत्त्वर गुरु-शिष्य सम्बन्धलाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।






