‘तरंग’को फस्टलुक वरुण र रविना

काठमाडौं,
चैत २४ ।

प्रदीपकुमार चौधरीको डेब्यु निर्देशकीय चलचित्र ‘तरंग’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत क्रियशनले पोष्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचारप्रसार सुरु गरेको हो ।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार वरुण अधिकारी र रविना केसीलाई फिचर्ड गरिएको छ । उत्सव पाण्डेद्वारा डिजाइन गरिएको पोस्टरमा कलाकारद्वयबीचको मौन प्रेमभाव झल्काइएको छ, जसले चलचित्रको भावनात्मक पाटोलाई संकेत गर्दछ ।

‘तरंग’मा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्ज्ल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहांग तथा बालकलाकार प्रन्शु चौधरीको अभिनय छ ।

चलचित्रको कथा स्वयं निर्देशक चौधरीकै रहेको छ भने तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहनुभएको छ । हरिनारायण चौधरी कार्यकारी निर्माताको रूपमा आबद्ध हुनुहुन्छ । महेश पौडेलको छायांकन रहेको चलचित्रमा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत छ । पाश्र्व ध्वनी सुशील डंगोल र सुदीप श्रेष्ठले तयार पार्नुभएको छ भने निर्माण व्यवस्थापन प्रमुखको जिम्मेवारी रिजन परियारले सम्हाल्नुभएको छ ।

मोरङ, सुनसरी, पाल्पा, रूपन्देही, चितवन र कास्कीका विभिन्न स्थानमा छायांकन गरिएको ‘तरंग’को प्रदर्शन मिति भने हालसम्म सार्वजनिक गरिएको छैन । निर्देशक चौधरीका अनुसार यसै साताभित्र चलचित्रको आधिकारिक रिलिज मिति घोषणा गरिनेछ ।

निर्देशक चौधरीले ‘तरंग’लाई सुपरनेचुरल लभस्टोरी अर्थात् अलौकिक प्रेमकथाको रूपमा प्रस्तुत गरिएको बताउनुभएको छ । निर्माण टिमका अनुसार समाजमा प्रचलित प्रेमकथाभन्दा फरक शैली र भावनामा आधारित कथा चलचित्रमा समेटिएको छ ।

देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रमा एभी फिल्मीले सहकार्य गरेको छ । नयाँ शैलीको प्रेमकथा प्रस्तुत गर्ने दाबी गरिएको ‘तरंग’ले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउने हो भन्ने प्रतीक्षा अब प्रदर्शन मितिको घोषणासँगै थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार