काठमाडौं,
चैत १९ ।
नयाँ वर्षको छेकोमा यही चैत २७ मा ‘राम नाम सत्य’ एकल प्रदर्शन हुने भएको छ । यो मितिमा आउने भनिएका अन्य नेपाली चलचित्र पोष्टपोन्ड भएसँगै माइकल चन्द निर्देशित यो चलचित्रले एकल प्रदर्शनको अवसर पाएको हो ।
यही मितिमा ‘छत्तिसको आँकडा’, ‘काजी’ र ‘डल्लेले इन्ट्री मार्यो’ ले प्रदर्शन मिति तोकेका थिए । यसले चार चलचित्रबीच प्रतिस्पर्धा हुने चर्चा पनि थियो तर, ‘छत्तिसको आँकडा’, ‘काजी’ र ‘डल्लेले इन्ट्री मार्यो’ ले प्राविधिक काम नसकिएको भन्दै मिति पोसपोन्ड गरे ।
यसको फाइदा ‘राम नाम सत्य’ ले उठाउने पक्का भएको छ । माइकल चन्द निर्देशित चलचित्र एक्सन जनरामा बनेकोले सुरुदेखि नै चर्चामा छ । साथै यो अभिनेता स्व. सुनील थापाको अन्तिम चलचित्र हो ।
चलचित्रमा समावेश ‘धागोले बाटेको’ र ‘हुम्लाको लिमी’ बोलको गीत पनि दर्शकले रुचाएका छन् । चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार, दिनेश डीसीलगायतका कलाकारले अभिनय छ । निर्देशक चन्दकै पटकथा तथा संवाद समेत रहेको यस चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।






