एनआरएनएमा चार वर्षे विवादपछि ऐतिहासिक एकता, पूर्व अध्यक्ष आर.के. शर्माको समर्पणले संस्थामा नयाँ अध्याय

काठमाडौं,
चैत ७ ।

करिब चार वर्ष लामो आन्तरिक विवाद र विभाजनको अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन ऐतिहासिक एकतासहित सम्पन्न भएको छ । मार्च १४, १५ र १६ मा आयोजित महाधिवेशनले संस्थालाई पुनः एउटै धारमा ल्याउँदै नयाँ नेतृत्व चयन गरेको हो ।

लामो समयदेखि गुट-उपगुटमा विभाजित रहेको एनआरएनएलाई एकतामा ल्याउन पूर्वअध्यक्ष आर.के. शर्मा, विनोद कुँवर, निवर्तमान अध्यक्ष महेश श्रेष्ठ तथा बद्री केसीलगायतका अभियन्ताको निरन्तर प्रयास, संयमता र संस्थाप्रतिको समर्पण निर्णायक बनेको देखिएको छ । विगतमा विभाजनमा जोडिएका यी नेतृत्वकर्ताहरू नै अन्ततः एकताको सूत्रधार बनेका हुन् ।

विभाजनको चरम अवस्थामा समेत आर.के. शर्माले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिँदै सबै पक्षलाई संवादमा ल्याउने अभियान निरन्तर अघि बढाउनुभएको थियो । चार वर्षसम्म चलेको विवादका कारण एनआरएनए कमजोर, विभाजित र अन्योलग्रस्त अवस्थामा पुगेको थियो । विभिन्न समूहबीचको अविश्वास, असहमति र नेतृत्व संघर्षका कारण संस्थाको साखमा समेत प्रश्न उठेको थियो ।

दसौँ महाधिवेशनदेखि सुरु भएको विवाद समाधानका लागि शर्माले निरन्तर पहल गर्दै आउनुभएको थियो । एघारौँ महाधिवेशनसम्म सहमतिका प्रयास भए पनि ती पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विवाद झन् गहिरिएको थियो । पछिल्लो चरणमा सर्वोच्च अदालतको परमादेशपछि बनेको कार्यसमितिमा समेत उहाँले एकतालाई प्राथमिकतामा राख्दै सबै पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयासलाई निरन्तरता दिनुभएको थियो ।

सोही पहलअन्तर्गत उहाँले आफूलाई प्राप्त नेतृत्व भूमिकालाई त्याग्दै महेश श्रेष्ठको नेतृत्वमा सहमति जनाउनुभएको थियो, जसले एकताको मार्ग प्रशस्त गरेको थियो । अन्ततः लामो धैर्य र प्रतिबद्धताको परिणामस्वरूप १२औँ महाधिवेशन एकताको सन्देशसहित सफल भएको हो ।

महाधिवेशनबाट सर्वसम्मत रूपमा डा. हेमराज शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन, प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपाने, महासचिवमा डा. चिरञ्जीवी खड्का र कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना चयन हुनुभएको छ ।

नयाँ नेतृत्वसामु अब विश्वभर छरिएका लाखौँ गैरआवासीय नेपालीहरूको अपेक्षा जोडिएको छ । विशेषगरी विभाजित राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई पुनः एकताबद्ध गर्दै संस्थालाई सशक्त बनाउने चुनौती देखिएको छ ।

यस ऐतिहासिक एकतामा सबै पक्षले आफ्नो अहंकार, दम्भ र व्यक्तिगत स्वार्थ त्याग्दै संस्थागत हितलाई प्राथमिकता दिएका छन् । यसले एनआरएनएभित्र परिपक्व राजनीतिक संस्कारको सन्देश दिएको विश्लेषण गरिएको छ ।

पूर्वअध्यक्ष आर.के. शर्माले यस उपलब्धिलाई सामूहिक प्रयासको परिणाम भन्दै सम्पूर्ण गैरआवासीय नेपालीप्रति आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले फाटिएका मनहरूलाई एकताबद्ध राख्न सबै पक्षलाई आग्रह गर्दै आफ्नो शब्द वा व्यवहारबाट कसैको मन दुखेको भए क्षमायाचनासमेत गर्नुभएको छ ।

एनआरएनएको यो एकता केवल संगठनात्मक पुनर्मिलन मात्र नभई विश्वभर रहेका नेपालीहरूको भावना, विश्वास र साझा पहिचानको पुनर्जागरणका रूपमा हेरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार