आँचलको जन्मदिनमा ‘एक मुठी बादल’को टिजर

काठमाडौं,
चैत ६ ।

आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठी बादलः माई सेयर अफ स्काई’को टिजर सार्वजनिक भएको छ । आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजर चलचित्रकी मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ । कवितासँगै टिजरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराएको छ ।

यो कविता चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ । सहाराका अनुसार उहाँले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गर्नुभएको थियो जुन उहाँले लगभग बिर्सिसक्नु भएको थियो । तर, चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उहाँको स्मृतिमा फर्कियो । सहारा भन्नुहुन्छ, ‘यो त्यतिबेला फर्कियो जतिबेला चलचित्रलाई यसको सबैभन्दा बढि आवश्यकता थियो । त्यसबेला देखि नै यो कविता चलचित्रको अभिन्न अंग बनेको छ ।’

अभिनेत्री आँचलले चलचित्रआफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको सुनाउनुभयो । ‘अरु चलचित्रमा म अरु कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो चलचित्रको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । यो चलचित्र मेरा लागि एकदमै स्पेसल छ,’ उहाँको भनाइ छ ।
चलचित्रमा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गर्नुभएको हो भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहनुभएको छ । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहनुभएको छ ।

चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप छ । मर्णा जेम्सले चलचित्रको प्रमुख सहायक निर्देशकको रूपमा काम गर्नुभएको छ भने उहाँलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाउनुभएको छ ।

चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको चलचित्रलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार