जेठ १ मा आँचलको ‘एक मुठ्ठी बादल’

काठमाडौं,
फागुन २४ ।

चलचित्र ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आइतबार चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेका हुन् भने नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

तीन पुस्ताबीचको भावनात्मक उतारचढाव र द्रुत परिवर्तनशील नेपाली समाजमा परिवारभित्रका अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई चलचित्रले प्रस्तुत गर्ने जनाइएको छ । यस चलचित्रको लेखन तथा निर्देशन सहारा शर्माले गर्नुभएको हो ।

चलचित्रले अन्तर्राष्ट्रियस्तरमा पनि विभिन्न उपलब्धि हासिल गरेको छ । युरोपियन पोष्ट-प्रोडक्सन ग्रान्ट ‘ह्युबर्ट बल्स फन्ड’ प्राप्त गर्ने महिला निर्देशकद्वारा निर्देशित पहिलो नेपाली चलचित्रको रूपमा यसले इतिहास रचेको छ । साथै कान्स फिल्म फेस्टिभलको मार्चे डु फिल्म, लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी र वेष्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबलगायत अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाएको थियो ।

चलचित्रका निर्माता अभिमन्यु दीक्षित हुनुहुन्छ भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहनुभएको छ । चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार