सत्यराजको स्वरमा ‘म नेपाली हुँ…’ (भिडियोसहित)

काठमाडौं
फागुन १७ ।

‘जेन-जी’ आन्दोलनको विषयवस्तु समेटिएको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आन्दोलनका तीन शहीद परिवारको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । सौन्दर्यविद् सुष्मा महराको शब्द रचना तथा अभिनय रहेको उक्त गीतमा सत्यराज आचार्यको स्वर, पुरुषोत्तम न्यौपानेको संगीत र दिक्षित पौडेलको संगीत संयोजन छ ।

सार्वजनिक कार्यक्रममा उदयपुरकी अम्बिका विश्वकर्मा (जसले बानेश्वरस्थित संसद भवनअगाडि श्रीमान् गुमाएकी), कीर्तिपुरका विष्णुबहादुर तामाङ (शहीद बुद्धिबहादुर तामाङका बुबा) र पार्वती अधिकारी (आन्दोलनमा आफ्ना छोरा गुमाएकी)को उपस्थिति थियो ।
शक्तिप्रज्वल घिमिरेको निर्देशनमा तयार गरिएको भिडियोले देशको राजनीतिक र सामाजिक परिवेशलाई ऐना देखाउने प्रयास गरेको छ ।

भिडियोमा एकातिर ‘जेन-जी’ पुस्ता सडकमा अधिकारका लागि आन्दोलन गरिरहेका र रगत बगाइरहेका मार्मिक दृश्यहरू प्रस्तुत गरिएका छन् भने अर्कोतिर सत्ताको बागडोर सम्हालेका नेताहरू बन्द कोठामा कुर्सीको खेलमा व्यस्त देखाइएको छ ।

भिडियोमा गीतकार महरा ‘जेन-जी’ शहीदकी आमाको भूमिकामा प्रस्तुत हुनुभएको छ । भिडियोका परिकल्पनाकार उज्ज्वलजंग शाह हुनुहुन्छ । यसैगरी, छायांकन राजेश घिमिरेले गर्नुभएको हो भने सम्पादन सतिश श्रेष्ठले गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार