काठमाडौं,
फागुन १५ ।
निर्माता सुशील पोखरेलको निर्माण रहेको चलचित्र ‘परालको आगो’ अमेरिका र क्यानडामा बिक्री भएको छ । चलचित्रको फस्टलुक सार्वजनिक भएको दुई दिनमै अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको हो ।
निर्माता पोखरेलले अमेरिका र क्यानाडा अधिकार बिक्रीसँगै अन्य मुलुकका लागि पनि विक्रीको लागि कुराकानी भइरहेको बताउनुभयो । लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मञ्जिला बानियाँको अभिनय छ । निर्देशक सुनारका अनुसार ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई चलचित्रले उठान गर्नेछ ।
हरि ॐ सिने मेकर्स प्रा.ल.िको निर्माणमा बनेको यस चलचित्रका निर्माता सुशील पोखरेल हुनुहुन्छ । सुशील देवकोटाले लेखन रहेको यो चलचित्रलाई संकल्प भुजेलले खिच्नुभएको हो । नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहनुभएको छ ।
भिएफएक्स समिर मिया, सत्यम रानाले गर्नुभएको छ भने टिजर र ट्रेलर साहिल खानले काटनुभएको छ । त्यसैगरी ५.१ मिक्सिङमा मुकेश शाहले गर्नुभएको छ भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गर्नुभएको छ । चलचित्रको पाश्वं संगीत किरण तुलाधर, संगीत शान्ती ठटाल, सत्य-स्वरुप, प्रकाश सपुतको छ । चलचित्रको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेख्नुभएको छ ।
यस चलचित्रको कला निर्देशकका रुपमा प्रतिक चौधरी रहनुभएको छ भने मुख्य सहायक निर्देशक करणबहादुर साउद हुनुहुन्छ । निर्मातामा सुलभी पोखरेल, सत्यम पोखरेल रहनुभएको छ । यस चलचित्रको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर डिजिटल राईट लिइसकेको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र निर्देशन गर्नुभएको थियो ।






