काठमाडौं,
फागुन ११ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान आईसीसी युवा संयोजक भीमसेन थापाले आगामी एकता अधिवेशनका लागि आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पोर्चुगलबाट सक्रिय नेतृत्व गर्दै आउनुभएका थापाले संगठनात्मक रूपान्तरण, आईसीसी पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली, युवाको सार्थक सहभागिता तथा संस्थागत एकतालाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । पोर्चुगल निवासी थापा सफल व्यवसायी तथा समाजसेवीका रूपमा परिचित हुनुहुन्छ । उहाँले हस्पिटालिटी, कृषि र निर्माण क्षेत्रमा युरोप र नेपालमा लगानी गर्दै आउनुभएको छ ।
एनआरएनए एनसीसी पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष, आईसीसी सदस्य तथा युरोप डिआरसीको भूमिका निर्वाह गरिसक्नुभएका थापा हाल आईसीसी युवा संयोजकको जिम्मेवारीमा हुनुहुन्छ । संस्थाको विभिन्न तहमा काम गरेको अनुभवले आफूलाई नीतिगत तथा कार्यान्वयन दुवै पक्षमा सक्षम बनाएको उहाँको दाबी छ।
संस्थाभित्र देखिएको मतभेद अन्त्य गर्दै एकताबद्ध एनआरएनए निर्माण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गनुभएको छ । ‘देश र नेपालीका लागि स्थापना भएको संस्था आफैँभित्र जुधेर बस्नु हुँदैन’, थापा भन्नुहुन्छ । आईसीसी पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली संस्थागत लोकतन्त्र सुदृढीकरणका लागि आवश्यक रहेको उहाँको भनाइ छ ।
युवालाई नीतिनिर्माण र नेतृत्व तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ । युरोपमा रहेका युवा पेशाकर्मी, विद्यार्थी र उद्यमीलाई एउटै सञ्जालमा आबद्ध गरी सीप, स्रोत र अनुभवको समन्वय गरिने उहाँले बताउनुभयो । निर्वाचित भए युरोपवासी नेपालीहरूको सुझावका आधारमा साझा कार्ययोजना अघि बढाउने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।
यसअघि देशमा भूकम्प जाँदा सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लामा राहत तथा सहयोगमा सक्रिय भूमिका खेल्नुभएका थापाले कोभिड-१९ महामारीका बेला पनि सहयोग अभियान सञ्चालन गर्नुभएको थियो । आफू पदका लागि होइन, सेवाका लागि चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ ।
आगामी निर्वाचनले एनआरएनएको भावी दिशा तय गर्ने सन्दर्भमा थापाको उम्मेदवारीलाई युरोपस्थित नेपाली समुदायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा संस्थागत रूपमा स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ । उहाँले गैरआवासीय नेपाली तथा अभियन्ताहरूसँग साथ, समर्थन र सुझावको अपेक्षा गर्नुभएको छ ।






