‘चमेलीको पोइ’को रिलिज स्थगित

काठमाडौं,
फागुन ८ ।

पूर्वघोषित मितिमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चमेलीको पोइ’ अब तत्काल प्रदर्शन नहुने भएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराले निर्देशन गरेको उक्त चलचित्रलाई रामनवमी अर्थात् १३ चैतमा दर्शकमाझ ल्याइने घोषणा गरिएको थियो । तर, देशको वर्तमान राजनीतिक अवस्था तथा निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको निर्माण पक्षले जनाएको छ ।

धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको नयाँ प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । निर्माता रामनारायण उपाध्यायले जारी गरेको भिडियो सन्देशमार्फत निर्देशक बोहरा र सम्पूर्ण टिमले कठिन परिश्रमका साथ समयमै चलचित्र निर्माण सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दै अनुकूल र शान्तिपूर्ण वातावरणको प्रतीक्षा गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।

केही समयअघि सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरले चर्चा बटुलेको चलचित्रलाई लिएर दर्शकमाझ उत्सुकता बढ्दो थियो । तर, संवेदनशील राजनीतिक परिवेशमा प्रदर्शन गर्दा अपेक्षित माहोल नबन्ने आकलन गर्दै टिमले संयमित निर्णय लिएको जनाएको छ ।

निर्देशक बोहराकै कथा रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा शेरबहादुर तामाङको छायांकन छ । निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय रहनुभएको छ भने कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य हुनुहुन्छ । सह-निर्मातामा प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर रहनुभएको छ ।

चलचित्रमा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रेमदेव गिरीलगायत कलाकारहरूको अभिनय छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको प्रदर्शन मिति पुनः तय भएपछि औपचारिक घोषणा गरिने जनाइएको छ । निर्माण टिमले दर्शकको अपेक्षालाई सम्मान गर्दै अनुकूल समयमै ‘चमेलीको पोइ’लाई प्रदर्शनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार