चलचित्र पत्रकार संघद्वारा स्व. सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौं,
फागनु २ ।

चलचित्र पत्रकार संघ नेपालले १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधन भएको १३औँ दिनको पुण्यतिथिको अवसरमा शुक्रबार आयोजित श्रद्धाञ्जलि सभामा उक्त घोषणा गरिएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलालगायत थुप्रै कलाकार तथा पत्रकारहरूको उपस्थिति थियो । सङ्घका अध्यक्ष बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गरिने, हरेक वर्ष माघ १८ गते स्व. सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गरिने तथा सङ्घको वार्षिक उत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गरिने जानकारी दिनुभयो ।

बोर्ड अध्यक्ष डिसीले स्व. सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले बोर्डका तर्फबाट कोषमा ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।

त्यसैगरी, कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले सिटौलाको मिलनसार, सहयोगी र सकारात्मक व्यक्तित्वको चर्चा गर्दै व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गर्नुभयो ।

कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकार ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले श्रद्धाञ्जलि अर्पण गर्दै स्व. सिटौलाको योगदानको चर्चा गर्नुभएको थियो ।

स्थापित अक्षय कोषका लागि विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले सहयोग घोषणा गरेका छन् । ओएसआर डिजिटलले ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले २५ हजार, निर्माता सरोज वली र मोहितवंश आचार्यले २५ हजार, षट्कोण आट्र्सले २५ हजार, दिलासा क्रिएसनका तर्फबाट चलचित्र पत्रकार लक्ष्मण सुवेदीले ११ हजार तथा चलचित्र ‘राम नाम सत्य’ टिमले १० हजार रुपैयाँ सहयोग घोषणा गरेका छन् । यसअघि विभिन्न पत्रकार, निर्माता तथा व्यक्तिहरूबाट तीन लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको सङ्घले जनाएको छ ।

यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको विवरण क्रमशः सार्वजनिक गरिने सङ्घले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार