काठमाडौं,
फागुन २ ।
सलोन-सलिना फिल्म्सको प्रस्तुतिमा चलचित्र निर्माण हुने भएको छ । ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया)का तर्फबाट कृष्ण थापाले यो चलचित्रको प्रस्तुति गर्ने हुनु भएको छ । चलचित्रको नाम भने तय गरिएको छैन ।
चलचित्रको नाम केही दिनमा औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ । चलचित्रको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नु हुनेछ भने कार्यकारी निर्मातामा नवीन घायल र सह-निर्मातामा हिमाल भण्डारी रहनुभएको छ ।
सौरभ लामाले खिच्ने यो चलचित्रको द्वन्द निर्देशन हिमाल केसीले गर्नुहुनेछ । चलचित्रको ६० प्रतिशत छायांकन अस्ट्रेलियामा र ४० प्रतिशत छायांकन नेपालको जुम्लामा गरिने निर्माण टिमको भनाइ छ। कलाकार र अन्य प्राविधिक टिम पनि केही दिनमै फाइनल गरिने टिमले जनाएको छ ।
निर्देशक शोभित बस्नेतले आगामी मार्च २० देखि ‘कमेडी दरबार’ टिमलाई एक महिनाको अस्ट्रेलिया टुरमा लैजाने तयारी गर्नुभएको छ । सो टुर सकिएलगत्तै चलचित्रको छायांकन सुरु गरिने उहाँले जानकारी गराउनुभयो ।
यो चलचित्रमा ‘पि आरु का केही कलाकार दोहोरिने पनि उहाँले बताउनुभयो । साथै, चलचित्रमा दुई नायक र दुई नायिका रहने र तीमध्ये एक नायक र एक नायिका चर्चित अनुहार हुने निर्देशक बस्नेतले बताउनुभयो ।






