काठमाडौं,
माघ १३ ।
नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककारहरु उषा शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र डा. रूपक श्रेष्ठलाई ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यी दुई पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र एकतीस हजार रुपैयाँ रहेको छ ।
वि. सं. २०१२ भदौ ६ गते जन्मिनुभएकी उषा शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रहहरूलगायत विभिन्न विधाका एक दर्जन कृतिहरू प्रकाशित छन् । शेरचन वि.सं. २०३५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा नेपालमै पहिलो पटक सशुल्क सम्पन्न ‘टिकटमा मुक्तक’ कार्यक्रमकी प्रणेता तथा अत्यन्त सक्रिय आयोजकमध्ये एक हुनुहुन्छ ।
यसैगरी वि. सं. २०२२ माघ ६ गते जन्मनुभएका डा. रूपक श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ र पोख्तकको अङग्रेजी अनुवाद मुक्तक कृतिलगायत विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् । विगत लामो समयदेखि बेलायतमा बस्दै आउनुभएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आउनुभएको छ ।
दुवै स्रष्टाहरूले मुक्तकको उन्नयनमा गर्नुभएको योगदानका आधारमा पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । यसअघि ‘भीमदर्शन मुक्तक पुरस्कार’ यादव खरेल, सरुभक्त र नन्द हाङ्खिम तथा ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ रुद्र ज्ञवाली, अनुराधा ढकाल र खगेन्द्र गिरी कोपिलालाई समर्पण गरिएको थियो ।






