अमेरिकामा पुरस्कृत भयो ऋषिराजको ‘द्रौपदी’

न्यूयोर्क,
माघ ७ ।

अमेरिकाको न्यूयोर्कमा मंगलवार सम्पन्न ‘द स्टोरी टेलर युनिभर्स फिल्म फेस्टिभल’ नेपाली फिल्म ‘द्रौपदी’ ले उत्कृष्ट दक्षिण एसियाली फिल्म को पुरस्कार पाउन सफल भएको छ । आरबि मुभिजको प्रस्तुतिमा ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘द्रौपदी’ ले उत्कृष्ट साउथ एसियायी फिल्मको अवार्ड चुम्न सफल भएको हो ।

हाल अमेरिकामा रहनुभएका निर्देशक आचार्यका अनुसार उक्त फेस्टिभलमा २० विधामा अवार्ड प्रदान गरिएको हो । बेस्ट साउथ एसियन फिल्मको अवार्ड पाएको ‘द्रौपदी’ मा मा निर्देश ऋषिराज आचार्यको प्रमुख भूमिकासमेत रहेको छ ।

आफ्नो लेखन तथा निर्देशन अनि निर्माणका साथै प्रमुख भूमिकासमेत रहेको फिल्मले अमेरिकाको लोकप्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड पाउनु ‘द्रौपदी’ को मात्र नभै समग्र नेपाली फिल्म क्षेत्रले समेत गर्व गर्ने विषय रहेको निर्देशन आचार्यको भनाइ छ ।

यो फिल्ममा ऋषिराज आचार्यसँगै रबि ओड, कबिराज भाम, सीता बौडेल, सुबास ठडराई, सुजाता तिमल्सिना, अश्विनी शाही, प्रकाश ज्ञवाली, जेल्सन अधिकारी, सुरज अधिकारी लगायतका कलाकारको अभिनय छ । यो फिल्ममा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली निर्माता हुनुहुन्छ भने सुबास ठडराइ र ऋतु आचार्य सह निर्माता रहनुभएको छ ।

पछिल्लो समयमा विशेष कथामा विशेष फिल्म भएका कारण विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुमा परेर समेत चर्चामा रहेको ‘द्रौपदी’ हालसम्म नौ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भइसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाइसकेको, विदेशीको नरजमा परिसकेको नेपाली फिल्म द्रौपदीमा रबि वोडको सङ्गीत र रबिसँगै इन्द्रकला राईको स्वर रहेको छ ।

मोहनकुमार झिल्लुको छायांकन, अनिल कुमार महर्जनको सम्पादन तथा रंग संयोजन, सौरभ शर्माको पाश्र्व संगीत रहेको यो फिल्ममा कला निर्देशनका साथै विजय आचार्य अन्तर्राष्ट्रिय बजार व्यवस्थापक प्रमुख हुनुहुन्छ । लक्ष्मण सुवेदी र लोकराज अधिकारी यो फिल्मका प्रचारप्रसार सल्लाहकार हुनुहुन्छ भने अन्तर्राष्ट्रिय प्रचार-प्रसार संयोजक लोकनाथ गौतम रहनुभएको छ । नारी संवेदनशीलतामा आधारित विशेष कथावस्तुमा बनेको नेपाली कला संस्कृति झल्किने तथा कर्णालीका सुन्दर दृश्यहरु समेटिएको ‘द्रौपदी’ हेरेपछि स्वदेशमा बस्नु भएका नेपालीका साथै प्रवासी नेपालीलाई झनै नेपालमै गएको महसुस गराउने निर्देशक आचार्यको विश्वास छ । ‘द्रौपद्रीले अन्तर्राष्ट्रियस्तरमा पाएको अवार्ड समग्र नेपाली फिल्म क्षेत्रका लागि हो’, उहाँ भँन्नुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार