सिलिगुडीमा कन्सर्ट गर्दै नेपथ्य

काठमाडौं,
माघ ७ ।

नेपाली सांगीतिक व्याण्ड नेपथ्यले पहिलोपटक भारतको सिलिगुडीमा प्रत्यक्ष कन्सर्ट गर्ने भएको छ । भारतमा दर्ता भएको नेपाली कम्पनी पिभीई नेटवर्कको आयोजनामा आगामी फेब्रुवरी २८ मा ‘नेपथ्य लाइभ सिलिगुडी’ आयोजना हुन लागेको हो ।

कन्सर्ट सिलिगुडीस्थित उत्सोधारा टिष्टा टाउनशिप, कावाखली ग्राउण्डको पछाडिको क्षेत्रमा हुने आयोजकले जनाएको छ । उत्तर बंगालको प्रवेशद्वारका रूपमा परिचित सिलिगुडीमा पूर्वी भारत र हिमालयन क्षेत्रका नेपाली संगीतप्रेमीहरूबीच सांस्कृतिक आदान-प्रदानलाई प्रवद्र्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको पिभिई नेटवर्कको भनाइ छ ।

यो कन्सर्ट पिभिई नेटवर्कले सिलिगुडी क्षेत्रमा आयोजना गर्न लागेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रत्यक्ष कन्सर्ट हो । पिभिई नेटवर्कका संस्थापक विकेश कायस्थले सिलिगुडीमा नेपथ्य ल्याउनु संस्थाको सांस्कृतिक प्रतिबद्धता र विश्वासको प्रतिबिम्ब भएको बताउनुभयो ।

‘यस क्षेत्रका दर्शकले पनि ठूला कन्सर्टको प्रत्यक्ष अनुभव लिन पाउनुपर्छ । हाम्रो उद्देश्य विश्वस्तरीय कन्सर्ट अनुभव प्रदान गर्नुका साथै नेपथ्यको सांगीतिक-सांस्कृतिक धरोहरलाई सम्मान गर्नु हो’, उहाँले भन्नुभयो ।

आयोजकका अनुसार कन्सर्टमा नेपाल र भुटानबाट दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ । साथै भारतका मुंबई, बेंगलुरु, नयाँदिल्ली तथा पूर्वोत्तर क्षेत्रबाट पनि दर्शकले कन्सर्टप्रति चासो देखाएका छन् ।

नेपथ्यको कार्यक्रमका लागि अर्ली बर्ड टिकटहरू अनलाइनमार्फत बिक्री भइसकेका छन् । हाल सीमित संख्यामा मात्र टिकट उपलब्ध रहेको आयोजकले जनाएको छ । नेपालमा भने खल्ती बाई आइएमई टिकटिङ पार्टनरको रूपमा टिकट उपलब्ध गराइएको छ ।

तीन दशकअघि स्थापित नेपथ्य दक्षिण एसियाका प्रभावशाली ब्यान्डहरूमध्ये एक मानिन्छ । सामाजिक जनजीवन, आप्रवासन, पहिचान र साझा स्मृतिमा आधारित संगीतका कारण नेपथ्यका गीतहरू उत्तर बंगाल, सिक्किम, नेपाल तथा छिमेकी क्षेत्रमा पहिलेदेखि नै लोकप्रिय छन् ।

नेपथ्यको यो प्रस्तुति सिलिगुडीको कन्सर्ट इतिहासमा दोस्रो ठूलो टिकटसहितको कन्सर्ट हुने बताइएको छ । यसअघि यस्तै स्तरको कन्सर्ट भारतीय गायक अरिजित सिंहले गरेका थिए ।

यसअघि पिभिई नेटवर्कको प्रोपाइटरी आइपी कन्सर्ट ‘लेट्स गेट लाउड-इण्डिया सिरिज’अन्तर्गत गायक सज्जन राज वैद्यलाई प्रस्तुत गरिएको थियो । उक्त सिरिजअन्तर्गत गतवर्ष नोभेम्बरमा सिलिगुडी र सिक्किमको गान्तोकमा आयोजित कन्सर्टमा १२ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो । गान्तोक शो सिक्किमकै सबैभन्दा सफल टिकटसहितको प्रत्यक्ष कन्सर्टको रूपमा स्थापित भएको थियो ।

नेपथ्यले नेपालसहित युएई, अष्ट्रेलिया, युरोप, जापान र अमेरिकामा सयौं कन्सर्ट गरिसकेको छ । पिभिई नेटवर्क दक्षिण एसियाको प्रमुख मनोरञ्जन प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ । यसले हालसम्म ४० भन्दा बढी शहरमा तीन सयभन्दा धेरै इभेन्ट सञ्चालन गर्नुका साथै ५० भन्दा बढी नेपाली कलाकारसँग सहकार्य गरिसकेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार