काठमाडौं,
पुस २९ ।
गायक यम बरालद्वारा स्वरवद्ध तीन वटा गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा विशिष्ठ कलाकार मदन कृष्ण श्रेष्ष्ठ, वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगम, निर्देशक तथा कलाकार दीपाश्री निरौला, पत्रकार ऋषी धमलालगायतले गीत तथा भिडियो सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक गीत मध्ये ‘यो साँझ फेरि’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । गीतको भिडियोमा केशवराज भट्टको निर्देशन, अमन बडुको छायांकन, राकेश दाहालको सम्पादन र जुना कार्की र गायक बरालको अभिनय छ ।
यस्तै, दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ । गीतको भिडियोलाई गीतकार बरालले नै निर्देशन गर्नुभएको हो भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय छ । भिडियोमा विक्रम डिसीको छायांकन र विकाश धमलाको सम्पादन छ ।
यस्तै, तेस्रो गीत ‘टेन्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दीपा गौतम, नवीन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयम्को अभिनय छ । नमितचन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडियोमा मनोज केसीको छायांकन र शुकुन तिमल्सिनाको सम्पादन छ ।
कार्यक्रमलाई सम्बोधन गदै गायक बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताउनुभएको थियो । ३५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय गायक बरालले आफू फण्डामा भन्दा साधनामा रम्न चाहने गायक भएको बताउनुभयो ।
आफूले जानेको भनेकै संगीत मात्र भएकोले निरन्तर संगीतकर्ममै सक्रिय रहिरहेको उहाँको भनाइ थियो । गायक बरालले आफूलाई विश्वास गरेर उत्कृष्ट सृजनाका लागि सहकार्य गरेको भन्दै सार्वजनिक गीतका श्रष्टा तथा स्रजकहरूप्रति आभारसमेत व्यक्त गर्नुभएको थियो।
यस्तै, संगीतकार शंकर थापा ‘स्माइल’ले गायक बरालको गायकीको प्रशंसा गर्नुभएको थियो । थुप्रै सफल गीतमा संगीत दिनुभएका संगीतकार थापाले बरालको स्वरमा संगीतको माधुर्यता पाइने जिकिर गर्नुभयो ।
‘यो साँझ फेरि’का सन्दर्भमा कुरा गर्दै उहाँले गायक बराल र गीतकार गौचनसँगको सहकार्यमा उत्कृष्ट सृजना पस्कने कोसिस गरेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठले आफूलाई मन पर्ने आवाज मध्येको एक यम बरालको भएको बताउनुभयो । श्रीमतीलाई गुमाएपछि आफू प्रायः भावुक रहने गरेको भन्दै कलाकार श्रेष्ठले गायक बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिनुभयो । उहाँले संगीतकार थापाको सिर्जनाको मुक्त कण्ठले प्रशंसा गर्दै आफूलाई उहँँको संगीतमा गीत गाउन मन भएको सुनाउनुभयो ।






