काठमाडौं,
पुस २६ ।
मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। साथै दक्षिण-पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।
हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनुका साथै बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
यस्तै, आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका आज (शनिबार) थप चिसो भएको छ । सुरुवाती मापनमै यहाँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ । महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस थियो ।






